म्फेम्मा च्वालाम साक्तुम्लो
आहिङल थेलिक लाक्तुम्लो
कःई पित्तिन् सीले सिक्किन् ने लाः
मेन्छामयाप्मी सीले पेलिपान् लाः
आसी गः र पोङल सी–मुन्धुम
आहिङ गःर पोङल हिङ–मुन्धुम
पालाम गाउँदै थिइन् मलाई बसेको ठाउँबाट तानेर नचाउने सोल्टिनी । तान्नुअघि तीन–चारओटा थर साइनो लाग्छ÷लाग्दैन भनेर सोधेकी थिइन् । कुनै थर त मैले सुनेको पनि थिइनँ । यसै लाग्दैन भन्दिएँ । त्यसपछि के रह्यो र तानिहालिन् । बाँकी अरू चार जना सोल्टा–सोल्टिनी आफ्नै सुरमा अघिदेखि नै नाचिरहेका थिए । हामी पनि मिसिएपछि छ जना भयौँ । एकअर्काको हात समाएर धान नाच्न थाल्यौँ । तान्ने सोल्टिनीले म भाग्छु झैँ गरी मेरो हात च्याप्प अँठ्याएकी थिइन् ।
अलि फतर फतर बोल्ने फतरी सोल्टिनी प्वाक्क बोलिन्, “सोल्टीहरूलाई यतै राख्नुपर्छ है केटी हो । लु सोल्टीज्यूहरूको के छ नि विचार ?” उनको छेउकै सोल्टीले जवाफ दिए, “हाउ, घरज्वाइँ बस्न पाए के खोज्नु, बस्ने हो नि !” मेरै दायाँपट्टि हात समाएकी अर्की सोल्टिनी सर्माउने स्वभाव कि थिइन् । प्रायः बर्कीले मुख छोपिरहेकी हुन्थिन्, शर्मिली । उनले थपिन्, “हलो जोत्नुपर्छ नि फेरि ।” उनकै दायाँपट्टिका सोल्टीले उत्तर दिए, “जोतुम्ला नि ! पोत्नु पो मेसो पाइन्न । जोत्ने त जातै हो के रे !” एकछिन हाँसो छायो ।
म लिम्बू भएर लिम्बू भाषा बुझ्दिनँ थिएँ, गोडा दशेका शब्दबाहेक ।
“पालामको अर्थ पनि बुझाउँदै जानू है” भनेर मलाई तान्ने सोल्टिनीलाई आग्रह गरेँ ।
“हैन ! याक्थुम्बा सोल्टी भनेको पेनिबाको पो हात पक्डेछु कि क्या हऊ ?” ठट्टा पारामा मलाई तान्ने सोल्टिनी बोलिन् ।
“मार्दुम्ना हाउ । बिच्चारा ! तेरो सोल्टी डराए जस्तो छ, लु बुझाइदे त पर्वतेमा ।” फतरीले हाँस्दै मलाई तान्ने सोल्टिनीलाई भनिन् । हामी त अघि नै मेरो तेरो सोल्टा–सोल्टिनी भइसकेछौँ ।
हातैको घडी लेटै भयो
संयोगले गर्दा भेटै भयो
भुटेको मकै छुर्पी जस्तो
नबोल्ने माया मूर्ति जस्तो
आकाशको तारा गनिनसक्नु
सोल्टीको बानी चिनिनसक्नु
अङ्ग्रेजी अक्षर आइआइ भन्छु
छुट्टिने बेला बाईबाई भन्छु ।
घरी सुरुको लाइन नबुझिने, घरी पछिको तर जति बुझेँ मज्जा आइरहेथ्यो । कुनै हाँस्यकविको कवितांश सुनिरहे जस्तो ।
फुपूको छोरा । मेरो दाइको बिहे । बेहुलाको मावलीबाट काका र म आएका छौँ । भर्खर मात्र बेहुली भिœयाइएको छ । विवाहघर अलि तल छ । हामी पाहुना जतिलाई बारीमा सानो तर लामो छानो वरिपरि ओछ्यान हालिएको छ । त्यही फेरोमा राडी–गुन्द्री मिलाइएको छ । नपुगेकोमा पराल ओछ्याइएको छ । विभिन्न ठाउँबाट आएका पाहुना आफ्नै धुनमा मस्त छन् । घरी घरी पाहुनाहरूलाई जाँड, तोङ्बा र मासु थपिदिन केही छोरीमान्छे खटिरहेका छन् । पाहुनाहरूलाई दिक्दारी नलागोस् भनेर विशेष ध्यान दिएको बुझिन्थ्यो ।
काका आफ्नै पुराना सोल्टिनीसँग बात मार्दै हुनुहुन्थ्यो । ती अधबैँसे महिलाको शिर, कान, घाँटीमा थुप्रै सुन छपक्क थिए । धेरथोर अरूले पनि लाएको देखिन्थ्यो । सुनेको थिएँ, लिम्बुनीहरू सुन लाउन सौखिन हुन्छन् । भए जति सबै लाएर हिँड्न मन पराउँछन् । ढकमक्क सुन लाएपछि मुहार चम्किनुपर्ने । अनुहार बल्नुपर्ने । तर उल्टो ती महिला खिस्रिक्क थिइन् । सुन पनि अन्तिम खुसी त होइन रहेछ । उनलाई देखेर गहनाका लागि सौन्दर्य गुमाएकी ‘नेकलेस’ कथाकी माथिल्डालाई सम्झेँ । तिनीझैँ कति महिलाहरूले सुन कमाउने ध्याउन्नमा सुन्दर जीवन कुरूप बनाए होलान् र कति बन्दै होलान् ।
पाहुना आएका केटीहरू पनि स्थानीय ठिटाहरूसँग अर्को हारमा धाननाच नाच्दै थिए । सुत्ने सुतिरहेका, मात्ने भुनभुनाउँदै गरेका र सोल्टा–सोल्टिनी नहुनेहरू विरक्तिएर घुँडा खुम्च्याएर बसेका थिए । त्यसरी जोगिने अलि उमेर नपुगेका भाराभुरी हुन्थे । प्रायः सबै महिलाले बर्को बेरेका थिए । कुन केटी को हो, उसको बर्कोको रङ, जीउडाल र गहना हेरेर ठम्याउनुपथ्र्यो । कति बज्यो थाहा भएन । तर रात छिप्पिँदै गएको थियो । निद्राले आँखा तल–माथि गर्दा बिझाएजसरी अप्ठ्यारो महसुस हुन थाल्यो ।
“लु सोल्टिनी, म त गलेँ, एकछिन आराम गर्छु है ।” समाइरहेको हात खोल्दै मलाई तान्ने सोल्टिनीलाई भनेँ ।
छेड हान्दै सोल्टिनीले भनिन्, “सोल्टिनी पो मन परेन कि ! हामी घाँसदाउरा गर्ने गाउँलेलाई के मन पथ्र्यो होला र ! खस्रो हातले बिझायो कि सोल्टिज्यू ?”
“त्यस्तो त होइन । निद्राले सतायो र नि सोल्टिनीज्यू ।” भन्दै पहिले बसेको ठाउँमा आएँ ।
“आज सोल्टीलाई मरिगए छोडिन्न ।” भन्दै मेरो छेउमा आएर बसिन् । कुरैकुरामा मैले नाम सोधेँ ।
“इक्सा !” उनले भनिन् ।
“सुनेसुने जस्तो । हिन्दी सिनेमाकी हिरोनीको नाम हो ?” मैले भनेँ ।
“हन साँच्चि, था’ छैन कि ! तेसै पेनिबा भनेको काँ हो र ! अन्वार मात्तै याक्थुङ्बाको ।” उनले भनिन् ।
“थाहा छैन र त ! फेरि यो पेनिबा भनेको चैँ के हो नि ?” मैले सोधेँ ।
“बर्कीले मुख अलिकति खोल्दै उनी बोेलिन््, “पेनिबा भनेको क्षेत्री–बाउन् हो । तपाईंको बोली, हाउभाउ सबै क्षेत्री–बाउन्कै जस्तो छन्त ।”
“ए ! बजारमा छ्यास्मिसे जातहरू छुम् । मिल्ने साथी जम्मै क्षेत्री–बाहुन् नै छन् । अन्त काँबाट आओस् लिम्बू भाषा ।” मैले भनेँ ।
“इक्सा भनेको धर्ती क्या !” उनले अर्थ बताइन् ।
“आहा ! कति राम्रो नाम । अनि सोल्टिनीको घरचैँ कतातिर हो नि ।” मैले सोधेँ ।
“उइ पर । ताङ्खुवा नै भन्छ । अनि सोल्टीको चैँ नाम, ठेगाना कता हो कुन्नि ? भन्न मिल्छ कि मिल्दैन ?” उनी बोलिन् ।
“मिलिहाल्छ नि ! ठेगाना चैँ उः त्याँ । नाम त राखिदिहाल्नुभयो– पेनिबा । भेटेर खुसी लाग्यो । लु सोल्टिनीज्यू, उज्यालो हुन आँट्यो अब सुतुम् है । भोलि फेरि बिहानै हिँड्ने कुरा छ ।” मैले भनेँ । मैले पारि धनकुटा बजार देखाउँदै ठेगाना बताएको थिएँ । डाँडामा लमतन्न परेर बजार मस्त सुतिरहेको थियो । मैले धनकुटालाई पश्चिम पारेर हेरेको पहिलो पटक थियो । त्यसमाथि यति राति । आहा ! रातमा पनि कस्तो राम्रो देखिएको । अहिले पुगिहालूँ जस्तो । बाक्लो बत्ती हुँदै मास्तिर थोरै भाग अँध्यारो । त्यो पक्कै सल्लेरी वन हुनुपर्छ । त्यहाँदेखि अझ माथि दश–बाह्रओटा बत्ती बलेको देखिन्थ्यो । तिनै बत्तीहरूमा मैले आफ्नो घर खोज्न थालेँ ।
काका अघि सुतिसक्नुभएको थियो । माथिल्डा गुँड फर्किसकेकी थिइन् । छेउमा घुस्रिएँ । सोल्टिनीहरू इत्तरिँदै पाहुना सोल्टीहरूलाई उल्लीबिल्ली बनाउँदै थिए । बङ्गाएर कुरा गर्न पनि कत्ति जानेका । हेर्दा नबोल्लान् लाग्ने, सीधा जस्ता देखिने सोल्टिनीहरू धान नाच्न, टुक्का जोड्न, जिस्क्याउन कत्ति खप्पिस । गाउँतिर हात तान्न, जाँड खान र रातभरि धान नाच्दा पनि कसैले केही नभन्दा रहेछन् । कति ज्याद्रा । अर्कोतिर कोल्टे फेर्दै गर्दा बिर्सिसकेको इन्द्रबहादुर राईको कथा ‘आज रमिता छ’ आँखैअघि झलझल्ती आयो— तन्नेरी र तरुनी एकएक जना मिलेर गोलो भई गीत गाउँदै दन्काएको आगाको रापमा झुल्दै गरेका देखिन्थे । कोही बाटातिर सुतेका भेटिन्थे । तर पहाडमा कुनै लिम्बूकी छोरी बिग्रेको मैले सुनिनँ ।
म झपक्क निदाको मात्र थिएँ, “हाओ ! चौपाया भोकले करायो है घरपटी हो ।” भन्दै तल घरधनीले सुन्ने गरी एक जना बुढा कराएको सुनियो । उज्यालो पो भइसकेछ । दौरा, सुरुवाल र कोटमा ठाँटिएका । थोरै ढल्किएको धारिलो टोपीमा सजिएका । कम्मरमा लामो खुकुरी भिरेका । चिम्सा आँखा । गाला र नाकको टुप्पो रातो बखडा जस्ता । झोक्की, झम्टिहाल्ला जस्तो देखिने झोक्कीबुढो वरपर गर्दै थिए ।
मैले काकातिर फर्केर सोधेँ, “खै याँ त चौपाया केई छैन त, के भोकायो भनेको काका ?”
“हाउ ! अहिलेसम्म खानेकुरा ल्याएन । अन्त चौपाया भोकायो भनेको पाउनाहरू भोकाए भनेको के ! छड्के हानेको पनि बुझ्दैनस्, गोरु । जाँड खानु नपाएर बुढाको आँत हरहर भए जस्तो छ । यस्तो बुढासँग चैँ जोरी नखोज्नू नि फेरि । ख्यालख्यालमा चार इन्च खुकुरी भसाउँदा नि था’ पाउँदैन ।” सम्झाउँदै काकाले भन्नुभयो, “लु अब दिदी–भेनालाई भनेर जानुपर्छ । नत्र दिउँसो गर्मीमा उकालो–ओरालो गर्न गाह्रो हुन्छ ।”
हामी हिँड्न लाग्दासम्म पाहुनाहरू मात्र थिए । त्यही गाउँका सोल्टा–सोल्टिनी कोही देखा परेका थिएनन् ।
बिहेघरतिर झर्दै गर्दा तीनै जना सोल्टिनी हातमा तोङ्बा बोकेर लर्को लागेर मास्तिर आउँदै रहेछन् । “लु है सोल्टिनीज्यूहरू, हामी त लागिम् ।” बाटो छोड्दै मैले भनेँ ।
“हाम्रो इक्सालाई नि लाने हैन ? यो त जाने पो भन्दैथ्यो ।” फतरी बोली ।
इक्साले कुइनाले हान्दै ‘चुप लाग’ भनेर इशारा गरिन् ।
“जाने भए त लाने हो नि !” उता नहेरी पाइला चाल्दै भनेँ ।
“घरमा अर्को बुढी होला, मार्ला है मार्ला ।” शर्मिलीले थपिन् । तीनै जना हाँसे ।
“मिलाएर राखुम्ला नि !” मैले पनि ठट्टामा साथ दिएँ । काका सुइँसुइँ अघि लाग्नुभो । हामीलाई बोल्ने मौका मिलोस् भनेर होला अरू दुईओटी पनि मास्तिर लागे ।
“भेट हुँदाचैँ बोल्नुहोला है । फेरि गाउँले भनेर तर्केर हिँड्नुहुन्छ होला ?” इक्सा लजाउँदै बोलिन् ।
“बोलिहाल्छु नि ! काँ त्यस्तो गर्नु !” मैले भनेँ ।
“त्यसो भए पर्सि बिहीबारे हटियामा भेटौँ ल ?” उनले भनिन् ।
“हुन्छ, अहिलेलाई बिदा भएँ है सोल्टिी ।” मैले हात जोडेँ ।
काकाले फुपू–फुपाजुसँग बिदा मागिसक्नुभएको रहेछ । मैले पनि मागेँ । उहाँहरू व्यस्त हुनुहुन्थ्यो । घरको बायाँपट्टि ठुलो खड्कुलामा खाना बनाउन लाठेहरू जुटिरहेका थिए । सबै आआफ्नै धुनमा थिए । हामी अलिकति तेर्सो लागेर ओरालो झ¥यौँ ।
ठाडो ओरालो पुल, त्यसपछि फेरि ठाडो उकालो । रातोमाटो अनि सल्लाका रुख हुँदै बहेको तातो हावाले अत्यासलाग्दो बनाउँथ्यो । यसै तिर्खा लागे जस्तो । तर यी सब बिर्साउने गरी इक्साको सम्झना आइरह्यो । बाटोमा काकासँग खासै बोलिएन । अझ भनौँ बोल्न मनै भएन । त्यसरी पहिलो पटक पाहुना भएर नाचेकाले होला मन रोमाञ्चित भएर त्यति लामो बाटो काटेको पत्तै भएन । घर आएर पनि उनी सम्झनामा आइरहिन् । अनिदोले गाँजिरहेसम्म म बिहेमै छु झैँ भइरह्यो । उनले गाएको दुइटा लाइन सम्झिएँ, त्यो पनि आधा–
सुँगुरको थुतुनो दूरबिन जस्तो
… … …
बाख्राको बड्कौला छरपस्ट
०००
अरु बेलाभन्दा बिहीबार बाटो अलि भिड हुन्छ । हटियामा तरकारी बेच्न जाने र किन्न जानेहरू प्रशस्तै भेटिन्छन् । खाना खाएर म पनि त्यतै लागेँ । म यतातिर त्यति आउँदिनथेँ । पायक नै नपर्ने । किनमेलका अतिरिक्त गाउँका ठिटा–ठिटीका लागि भेट्ने उपयुक्त ठाउँ हुन्थ्यो, हटिया ।
बजारमा भिड थियो । मेरा जोरआँखा इक्सालाई खोज्न थाले । बजारको तल्लो छेउ पिपलको रुखमुनि सुँगुरका पाठापाठी बेच्ने ठाउँ छ । ढुङ्गा–माटोको गारो उठाएर पिपललाई गोलो फन्को मारी चौतारी बनाइएको छ । यत्तिकैमा फतरी सोल्टिनीको आवाज कानमा प¥यो । उनी पाठा बेच्न ग्राहकसँग मोलमोलाई गर्दै थिइन् । चप्पल ओछ्याएर भुइँमा थ्याच्च बसेकी थिइन् । मलाई देखेर लजाए जस्तो गरिन् । फतरी लजाउँदा कस्तो नसुहाएको । इक्सा र शर्मिली पनि त्यहीँ रहेछन् । पाठा विक्री नभएर उनीहरू फतरीलाई पर्खिरहेका थिए ।
तीनै जना लुङ्गी, ब्लाउज र थोरै हिल उठेको चप्पलमा थिए । रोजाइ एकै, रङ मात्र बेग्लै । चप्पल भने दुई जोर हुनुपर्ने रहेछ । एउटा बाटो हिँड्दा, अर्को बजार पुगेपछि । बजारैपिच्छे बा–आमालाई खर्च मागेर हिँड्न अप्ठेरो भएपछि आउँदा केरा, बदाम, पाठा बोकेर विक्री गर्न लिएर आउँदा रहेछन् । काम पनि देखिने, खर्चको जोहो पनि हुने ।
म चाहन्थेँ, इक्सासँग एक्लै बात मारूँ । तर उनी साथीहरूलाई छाड्न अप्ठ्यारो मान्थिन् । सायद उनीहरू कसैले पहिले त्यसरी छाडेर हिँडेका थिएनन् कि ! वरिपरि गाउँलेहरू भएर होला मलाई पनि असहज महसुस भइरहेको थियो । उभिरहन पनि अप्ठ्यारो । त्यसपछि “लागेँ है” भनेर हिँडेँ । दोस्रो भेट पनि ‘के छ, कसो छ’ मै बित्यो । उनको विवशतालाई बुझेँ । “म गएँ है ।” भन्दै हिँड्न लाग्दा उनले सकिनसकी, “अर्को हप्ता पनि आउनू है ।” भनिन् । मुसुक्क हाँसेर “हुन्छ ।” भनेँ ।
केही हप्ता उस्तै गरी दोहोरिइरह्यो । एक दिन उनलाई एक्लै देखेर ताजुब लाग्यो । सोध्दा साथीहरू फिल्म हेर्न गएको तर आफूलाई जान मन नलागेको बताइन् । सायद साथीहरूले पनि कुरा बुझेछन् क्यार, जिद्दी गरेनछन् । अब जानु त जाने तर कता जाने भयो । कतै बसेर कुरा गर्न पाए हुन्थ्यो भन्ने मनमा थियो । इक्साकै रोजाइमा उनकै घर जाने बाटोतिर लाग्यौँ । बाक्ला घरहरू बिस्तारै पातलिँदै गए । अन्तिम घरबाट दश–बाह्र मिनेट तल गएपछि बस्न मिल्ने ठुलो ढुङ्गा रहेछ । मूल बाटोबाट थोरै छड्किनुपर्ने तर नजिकै हामी त्यहीँ गएर बस्यौँ ।
त्यहाँबाट पारि इक्साको गाउँ छर्लङ्ग देखिँदो रहेछ । पुल हुँदो हो त पाँच मिनेटमै पुगिन्छ जस्तो । अझ नियालेर हेर्दा उकालोमा कमिला जत्रा मान्छे वस्तुभाउ लिएर हिँडिरहेका देखिए । जङ्गलबाट आगोको धुवाँ निस्किरहेको । फाट्टफुट्ट घरहरू । कुनै कुनै घर त एक्लो र अरूभन्दा टाढा । पुछारको घर नजिक कसैले रुख काट्दै गरेको देखियो । कस्तो अचम्म, हानेर बन्चरो माथि आइपुग्दा मात्र यता आवाज सुनिन्थ्यो ।
पारि हेर्दाहेर्दै एकछिन मौन भएछौँ । फुपूको घर ठम्याउन खोजेँ । सकिनँ ।
“हैन, हाम्रो फुपूको घर कुन पो हो ?” मलाई बोल्ने निहुँ चाहिएको थियो र सोधेँ । उनले बाटोको दायाँपट्टि झिँगटीको छानो भएको ठुलो घरको छेउको घर हो भनेर चिनाइन् । घर हामी बसेकै उचाइमा थियो घर । पछाडिको भाग देखेर ठम्याउन गाह्रो भएछ ।
“अनि सोल्टिनीको घरचाहिँ कुन हो नि ?” जान्न उत्सुक थिएँ । फुपूको घरदेखि दायाँ हुँदै अलि माथि रहेछ । करिब दश मिनेटको बाटो । सानोटारको भित्तापट्टि तल रातो र माथि सेतो माटोले लिपिएको । कालो झ्याल भएको चिटिक्कको घर रहेछ । हामीलाई नै हेरेर जिस्काइरहे जस्तो घर हाम्रैतिर फर्किएको थियो ।
“सोल्टीज्यू, तपाईं रिसाउनुहुन्न भने एउटा कुरा भनुम् ?” एकछिनको मौनता चिर्दै इक्साले सोधिन् ।
“एउटा मात्र किन ? धेरै सोध्नुस् न, सोल्टिनीज्यू । कत्ति उत्तर दिन मन छ ।” मैले जिस्काए जस्तो गरेँ ।
“त्यो बेला गाएको पालामको अर्थ त्यस्तो हाँस उठ्ने थिएन नि !” उनले भनिन् ।
“हो र ! कस्तो थियो त ?” मैले सोधेँ ।
“नआउने कुलोलाई थुनिराख्नुपर्छ, जीवनभर नाच्दै–गाउँदै रमाइलो गर्नुपर्छ । गाईवस्तु मरे दाम्लो रहन्छ, मान्छे मरे बोलीवचन मात्र रहन्छ । हामी मरे पनि हाम्रो कथा बनिरहोस्, बाँचे पनि जीवनगाथा बनिरहोस् यस्तै–यस्तै अर्थ पो लाग्थ्यो त ।” उनले भनिन् ।
“आहा ! कस्तो राम्रो रहेछ । सुनिरहुँ जस्तो ।” मैले भनेँ ।
हामी सल्ला सुसाएसँगै एकछिन हराउँथ्यौँ । बहन्थ्यौँ तल बगिरहेको निबुवा खोलासँगै । झोलुङ्गे पुलमा अरू झुलिरहे जस्तै गरी हामी त्यतै झुल्थ्यौँ । एक्लै होइन दुक्लै । मौनता चिर्दै फेरि बोल्थ्यौँ र हामी त्यहीँ हुनुको आभास गथ्र्यौं । रमाउँथ्यौँ ।
केहीबेर बसेपछि मन लागी नलागी हामी फेरि हटिया फर्कियौँ । साथीहरू आइपुगेकै थिएनन् । राम्रै भयो । स्पष्टीकरण त दिनुपरेन । तलबाट आउँदा पाठापाठी बेचिने ठाउँ मुखैमा पर्छ । निबुवाखोला तमोर नदीमा मिसिए जसरी उनी गाउँलेहरूसँग त्यहीँ मिसिइन् ।
हाम्रो भेट हप्तैपिच्छे हुन थाल्यो । इक्सा कुनै न कुनै बहाना बनाएर हटिया आउने गर्थिन् । साथीहरूले पनि हाम्रो भावना बुझ्न थाले । अझ भेट्ने माहोल बनाइदिन्थे । पर्खिने र समय मिल्नेबित्तिकै भेट्ने स्थल त्यही ढुङ्गा बन्यो । त्यहाँ बसेर पारि हेर्न थालेपछि म यसै यसै हराउँथेँ । अनि मलाई होसमा ल्याउँदै उनी भन्थिन्, “म हटिया आइनँ भने यहीँ ठाउँमा आएर पारि हेर्नू है, म त्यहीँकतै हुनेछु । म जहाँ भए पनि मेरो आत्मा यही गाउँठाउँमा हुनेछ । हेर्नू त ऊ तेसोरी घाँस काटिरहेको हुनेछु । मकै गोडिरहेको हुनेछु । त्यो दोबाटोको बरको फेदमा बसेर साथीहरूसँग गफ गरिरहेको हुनेछु । चाहे जे गरुम्, तपाईंलाई याद भने गरिरहेको हुनेछु है ।”
“सोल्टिनी नआएपछि याँ बसी हेरेर मात्र त मन दुःखी भै’हाल्छ नि ! कसरी चित्त बुझ्ला र खै ।” उनको मन चोर्दै भनेँ । तर उनी गम्भीर हुँदै भनिन्, “दुःख मान्नु हुन्न । हाम्रो युमाले जैल्यै मुन्धुम दर्शनको उदारण दिँदै भन्नुहुन्थ्यो— आकाश जस्तो अग्लो मन बनाएर संसारको दुःखलाई आफ्नो आत्मज्ञानले गहिरो विचार गर्नू रे ! अनि यो क्षणभरको बादलको छाया मात्र हो भन्दै सह्यो भने त्यो मनको दुःख आफैँ हराइजान्छ रे ! आफ्नो मनलाई सदैव सूर्यको ज्योति जस्तो सम्झनुपर्छ तब आफ्नो मन खुसी हुन्छ । मनलाई तह लगाउने ज्ञान पनि यही हो भनेर सम्झाउनुहुन्छ ।”
म छक्क परेँ । जान्नुपर्ने अझै थपियो । विनासङ्कोच सोधेँ, “आहा ! कति राम्रो दर्शन र छ नि ! ज्ञानको लागि देशी–विदेशी किताब खोज्दै पढ्ने भण्डार गाउँतिर पो र’छ ।”
स्वीकारोक्ति टाउको हल्लाइन्, “हो त । निङ्वाफुमा भनेकै ज्ञान हो । उज्यालो आत्मा । मानिस भएर आजको, भोलिको ज्ञान राखेन भने उसको दशा होस बिग्रेको बौलाहा जस्तो हुन्छ भन्छन् ।“
“हो र, यो पनि मुन्धुम दर्शन हो कि ?” ठट्टा गर्दै सोधेँ ।
“यति पनि था’ छैन ।” सम्झाउन थालिन्, “यो चैँ किराती शास्त्र । कुनै दिन ठक्कर पाउँदा था’ हुन्छ आफ्नो भाषा, धर्म, संस्कृति नजान्दाको परिणाम । होस बिग्रेको बौलाहाकै ताल होला अनि । अझ शास्त्रले त किरात जातिहरूले विद्या पढ्न छाडे भने उनीहरूको वंश पनि मासिनेछन् भन्छ ।”
“अबुइ डर पो लाग्यो । अनि माया, प्रेमबारे के भन्छ त शास्त्रले ?” म जिज्ञासु बनेँ ।
“पालामले चार किसिमको मायाको वर्णन गर्छ नि ! सबैमा अन्तिममा मिलन छ । मिलन हुँदा आनन्द हुन्छ र आनन्दले सृष्टि । पञ्चतŒव, प्राणी, वनस्पति सबै मायाले त अडेको छ । माया, प्रेमविना संसार अधुरो, अपुरो छ । पालाम दर्शन यही भन्छ ।” उनी बोलिन् दार्शनिक शैलीमा ।
उत्तर पाएँ । मतलब घुमाइफिराई मैले जान्न चाहेकै प्रेमबारे थियो । ठुलो बोझ हटेपछिको आनन्दझैँ महसुस भयो । त्यसपछि पुस्तकबाहिर निस्केर सोधेँ, “तपाईंले यति धेरै ज्ञान कसरी पाउनुभो ?”
“उहिले हाम्रो पल्टने बाजे बर्मा युद्धमा मुस्किलले बाँच्नुभएछ । लेखापढी र धर्म–संस्कृति नजान्दा साह्रै दुःख पाइँदो रै’छ भन्दै फिर्ती हुनुभो । अबउप्रान्त मेरो शाखासन्तानले पल्टन जान नपरोस् भनेर भाकल पनि गर्नुभएछ । अनि उहाँ नबितुन्जेल हामी सबैलाई जानेको सिकाउनुभयो ।” उनले सनाइन् ।
“ओहो ! अब मैले नि सिक्ने भएँ । तपाईंको जो सङ्गत छ ।” म बोलेँ ।
“लु धेर चेपारो नघस्नू । तपाईं सङ्गत भन्नुहुन्छ । उता हाम्रोबारे आमालाई कसले भन्देछ को नि, कराउँदै हुनुन्थ्यो । खै यसोरी कैलेसम्म भेट्नुपर्ने हो कुन्नि ?” उनी बोलिन् ।
मैले गम्भीर भएर टाउको हल्लाएँ । तत्काल कुनै शब्द आएन मुखमा । उनको कुराले आश्चर्यभन्दा पनि मनमा अनेक सवाल आए । अन्ततः निचोडमा पुगेँ र भनेँ, “अब माग्नै आउने हो । म आजै घरमा कुरा गर्छु ।”
०००
घरमा अप्ठ्यारो मान्दै आमालाई भनेँ । मेरो दुःखसुख, गाह्रोसाह्रो पहिला आमालाई नै भन्थेँ । मैले भन्नुअघि नै हाम्रो सम्बन्धबारे गाइँगुइँ हल्ला बाआमाको कानमा पुगिसकेको रहेछ । भरपर्दो स्रोत काका नै हुनुपर्छ सायद । झन् सजिलो भयो । केटाकेटी मन परापर भए भइहाल्यो भन्ने सोच आमाबाको रहेछ । बाबाले दाजुभाइ बोलाएर सल्लाह लिनुभयो । घरमा छलफल भएको दुई दिनपछि केटी माग्न काका र म जाने भयौँ । रितअनुसार छ तोला सुन, दश हजार रुपियाँ माग होला भनेर अड्कलियौँ र साथमा दुई बोतल रक्सी पनि बोक्यौँ । थप माग भए फुपाजुसँग कुरा गरेर मिलाउने भन्दै हामी बिहानै लाग्यौँ । बाटोमा काकाले त्यहाँ गएर बोल्ने, बस्ने र खाने तरिका सिकाउनुभयो । घरीघरी बिहेपछिको कुरा गरेर जिस्काउनुहुन्थ्यो । एकछिन फुपूकोमा निस्केर फुपाजुसमेत लिएर इक्साको घर पुग्यौँ ।
“हजुरको घरमा सुन्दर फूल फुलेको देखेर हाम्रो भमराले मन पराएछ । हजुरहरूसँग कुटुम्बेली गर्न पो आयुङ त हउ । हजुरहरूको विचार के कसो छ ? धेर बोले माफी है हजुर ।” रक्सी अगाडि सार्दै काकाले कुरा उठाउनुभयो ।
“हाउ मन पराउँदैमा काँ हुन्छ । के थरी पर्नुभो ? साइनो पो लाग्छ कि ? इलम के कसो छ ? बा इन्डियातिर बेचिपठाउने पो हो कि ! लु भन्नुम् त ।” इक्साका बाले आफ्नै शैलीमा प्रश्न तेस्र्याउनुभयो ।
“साइनो त नलाग्नुपर्ने हो, तेइ पनि केलाउँदा राम्रो ।” ढुक्कले फुपाजुले भन्नुभयो । दुवैतर्फको तीन पुस्ते केलाइयो । साइनो नलाग्ने देखियो ।
इक्साको युमा हाम्रो कुरा सुनिरहनुभएको थियो । उहाँको शङ्कालु पारामा भन्नुभयो, “हाउ तापलिङजोङे केप्टेन आएर त्याँ बजारमा बसेको थ्यो । नानीहर्को को पो पर्ने हउ ?”
“हैन, अन्त उस्कै नाति त हो यो भदै केटो ।” फुपाजुले उत्तर दिए ।
“हाउ ! केप्टेन ता नि मेरो काका पो पर्छ । वाँको आमा र मेरो माइती एउटै थरी हो । लु ठुले तेरो त भाइ पो परो है यो नानी ।” युमाले भन्नुभयो ।
“खै हजुर, आजभोलि तीनपुस्ते मात्र साइनो पछ्याउन थालेका छन् । साइनो पछ्याउँदै गयो भने ता लिम्बूको कुकुर फुपाजु, कुखुरा छेमा पर्छ भन्छ ।” काका कुरो मिलाउनतिर लाग्नुभयो ।
“यो चारपुस्ते साइनोतिर न जौँ आमा । केटाकेटी राजीखुसी भए नछेकुम् होला ।” इक्साको बा पनि कुरो मिलाउनतिर लागे ।
“हाउ, लु जे सुकै गराव । देख्खिदेखि भाइलाई कस्सरी पो ज्वोइँ भन्छस् हाउ ठुले । मुन्धुममै केटापट्टि चार पुस्ते, केटीपट्टि तीनपुस्ते केलाको छ । यसोरी नातागोता बिग्रे निङ्वाफुमाले शाखासन्तान पिराउँछ । तिमेरु मान्दिम्नाँ भनेर हुन्छ, याँ । बे गर्दिन्छस् भने म मराउ भाको वर्ष दिनमा गद्र्याव । देख्दिनँ पो, ढुक्कइ हुन्छ । डाँडै काटेर गाका होइन छेउघरे साइँला । तेस्को सन्तान बिग्रेको बिर्सेऊ ? लु जे सुकै गरावा । म त मञ्जुर छैन पो ।” असन्तोष प्रकट गर्दै युमा कोठामा छिर्नुभयो ।
सन्तानलाई पिरोल्छ भनेपछि इक्साका बा पछि हटे । माहोल एकछिन चकमन्न भयो ।
“दुन्यामै छैन होलाउ यत्ति लामो साइनो केलाउने चल्ती । साइनो केलाउँदाकेलाउँदै यो केटोले मेन्छ्या नै नपाऊला जस्तो छ” छेड हान्दै काकाले भन्नुभयो, “हाउ, लु आबो के पो गरुम्त । चुप बसेर त काम फत्ते हुन्न हइ ।” एकछिन सोचेर फुपाजु बोल्नुभयो, “लु नआउनु कुटुम्ब गर्न आइहालिम् । खाली हात जाने कुरो भएन । शिर ढल्छ । बरु अहिले केटी भगाएर लाने, पछि चोरको सोर बुझौदा भोइ पो गोयो । भगाएर लाँदा चारपुस्ते नि सोझिन्छ ।”
खुइ®या गर्दै शिरको टोपी घुँडामा राखेर इक्साका बा बोले, “खै, म के भन्नु र आदाङ्बासे । तपाईंहरू आफूइ जान्नेबुज्ने हुनुन्छ । हाम्ले दिन्न भनेका छुइनम् । पैला माग्नु आकोलाई सक्भर दिनु भन्छ । आबो साइनै लागो त कसको के लाग्छ ! दुःख नमान्नु होस् कुटुम्बेली हुन लेख्या रै’नछुङ ।”
त्यही बेला काका र मेरो आँखा जुध्यो । उहाँले मलाई हेर्दै भन्नुभयो, “ठिकै छ । करकापले हुन्न केरे । लु लागुम्त ।” हामी हिँड्ने सुरसार कस्यौँ ।
घर छाड्नुअघि इक्सालाई भेट्न मन थियो । तर माहोल पूरै हाम्रो विपरीत भइदियो । साइनोले इक्सा भतिजी परिन् । कताकता यो त सपनाझैँ भयो । ब्युँझिएपछि फेरि सबै कुरा ठिक भइहाल्ला जस्तो ।
“कम्ताका छन् इनेरु । लाउरे माग्नुआको भए साइनो था’ पाइनम् भन्दै मिचेर दिन्थे । चाउरेलाई जे भने नि भैगो ।” फुपाजुले मुर्मुरिँदै भन्नुभयो । उता काका ‘शिर ढल्यो’ भन्दै एकदम चिडिनुभयो । फुपाजुले पुछारघरे केटीको कुरा झिक्नुभयो । काका पनि “यिनीहरूलाई देखाइदिनुपर्छ, यसै फर्किनु हुँदैन” भन्दै हुनुहुन्थ्यो । तर म कत्ति पनि मानिनँ । अहिले त्यसमाथि यही गाउँको केटीसँग बिहे गर्ने कल्पनै गर्न सक्दिनथेँ । मेरो अडान डेक नचलेपछि त्यस रात फुपूकोमा बसेर हामी बिहानै घर फर्कियौँ ।
हामीबिच केही रहेन । भगाउँदा हुन्थ्यो भन्ने कुराले अड्डा जमाएर बसेको थियो । इक्सालाई कसैगरी फकाउन पाए ! तर उनी घरपरिवार र मुन्धुमविरुद्ध जाँदिनथिन् । बेबकुफ मन यसै कहाँ मान्छ र ! बिहीबारे हटियामा यी आँखाले उनलाई खोज्न थाल्यो । अहँ पाइनँ । इक्सा आउनै छाडिन् । एक दिन अप्ठ्यारो नमानी शर्मिलीको नजिक गएर इक्साबारे सोधेँ । मलाई छेउमा देखेर उनी झन् लजाइन् । उनले मुख छोपिराख्नुको कारण मुख बाङ्गो भएर पो रहेछ । देखिहालेँ । उस बेला खाँदा पनि लुकाएर खान्थिन् । त्यो रात उनको सोल्टीले पो चाल पायो–पाएन ! खैर, मेरो प्रतिक्रिया सामान्य थियो । मानौँ, त्यहाँ केही भएकै छैन ।
रुमालले मुख छोपेर लजाउँदै उनले इक्साको बारेमा सुनाइन््, “लु केई पो था’ छैन कि ! तपैँलाई नदेपछि बिचरा टोलाइजाने भा’थ्यो । बिगार गर्छ कि भनेर अगि उसको बाउ–आमाले बे गद्र्यो गाम्तिरको केटा खोज्देर । जोडी त उति नमिल्ने पो । बेको दिन त बेस्मारी रोयो । तेल्ले हाम्लाई पनि ¥वाएर गयो … !”
त्यसपछि पनि उनी बोल्दै थिइन्, चाल पाइनँ । सुन्न बाँकी नै के थियो र ! आफूले टेकेको जमिन भासिए जस्तो भयो । क्वारवार्ती सबैले मलाई हेरे । दया, मायाको भावले हेरे । कसैले बिचरा भन्दै थिए । होस हराएको बौलाहा जस्तो मलाई अब के नै फरक पथ्र्यो र ! अवचेतन मनले पाइलाहरू हिँडायो जुन बाटो पहिले उनीसँग हिँड्ने गरिन्थ्यो र त्यहीँ ढुङ्गामा गएर टक्क रोकायो, बसायो ।
टोलाइजाने… बिगार गर्छ भनेर… जोडी नमिल्ने… कानमा गुन्जिरह्यो । उनको त्यो हालत बनाउने दोषी म नै हो भनेर चिच्याऊँझैँ भयो । आँसु रोक्न सकिनँ । हिक्कहिक्क रोक्न खोजेँ । तर घाँटीमा गाँठो परेर सास फेर्न अप्ठ्यारो भयो । मुटु निचोरिँदै आयो । साँच्चै, असह्य पीडामा मुटु दुख्दो रहेछ ।
इक्साले त सबै मायाको अन्त्यमा मिलन हुन्छ भन्थिन् । तर खै ? खै त हाम्रो मिलन भएको ? हाम्रो माया ‘फूलमाया’ भइदिएको भए चाहेका फूलहरूमा परिवर्तन भई मिल्ने थियौँ होला, जसको कुनै साइनो हुँदैन । बस् माया नै माया हुन्थ्यो । सायद हाम्रो माया ‘दिलमाया’ पो थियो कि ? यो जुनीमा नभए पनि अर्को जुनीमा मिलन हुने !
म हराएँ आफैँभित्र । सर्वत्र मौनता छायो । अब म हुनुको आभास अब कसले दिने ! म हावासँगै कुम्भकर्ण हिमालतिर माथि माथि बहन थालेँ । खोलासँगै सप्तकोसी भेट्न झन् तल तल बग्न थालेँ । पारि भित्तामा कमिलाझैँ हिँडेको बटुवा कहाँ जाने हो थाहा छैन ! म उही बटुवाझैँ भएर उद्देश्यहीन हिँडिरहेँ । बेहोसीमै हिँडिरहेँ ।
शब्दार्थ
पेनिबा ः क्षेत्री, बाहुन
पालाम ः धाननाच नाच्दा गाइने गीत
याक्थुङ्बा ः लिम्बू
युमा ः हजुरआमा
निङ्वाफुमा ः किराती देवी
मुन्धुम ः किरात धर्मग्रन्थ
तापलिङजोङ ः ताप्लेजुङ
मेन्छ्या ः केटी
आदाङ्बासे ः मान्यजन, दाजुभाइ ।