बेलुकीको आठ बजिसकेको थियो क्याथे प्यासेफिकले लण्डन स्थित हिथ्रो एयरपोर्टको ग्राउण्ड चुम्दा । खुसी हुनु स्वाभाविक नै हो, लगातार चौध घण्टा प्लेन यात्राबाट छुटकारा मिल्दा । न दिन न रात उस्तै रह्यो प्लेनभित्रको बन्द समय । बाहिर पनि रातै परिसकेको महसुस हुन्थ्यो प्लेनको साँघुरो झ्यालबाट बाहिर चियाउन समेत नपाउँदा । यसै पनि हिउँदको छोटो दिन । जेहोस् सकुशल अवतरणमा— लामो श्वास फेरँे एउटा फरक अनुभूति र बिसौनीमा ।
लामो आकाशे यात्रा । स्वाभाविक नै हो—प्लेनले बेला बेला हल्लाउनु । तल माथि उचालिनु थेचारिनु । सहनै पर्छ यस्ता आरोह अवरोहहरू । र स्विकार्नै पर्छ स्वाभाविक विशेषताहरू । यस्तो परिस्थितिमा कुनै छनोट नहुने—बेला बेला सातो नै लिने अस्वाभाविक भएर । पछिल्लो समयमा निक्कै असहज बनायो, ब्रिटिस च्यानल पार गरिरहँदा । त्यति बेला सिट अगाडिको स्क्रिनमा दृष्टि गडिरह्यो, प्लेन आफ्नै रुटमा पनि कति ढिलो घस्रिरहे जस्तो लागेर । कुन मुलुकको आकाश होला ? अब कति बाँकी होला यो हल्लिरहेको बाटो ? परिचारिकाले सावधानका सूचनाहरू सम्प्रेषण गरिरहँदा पनि मेरो ध्यान गडिरहन्थ्यो स्क्रिनमा देखाइएको रुटमाथि । हल्लाइरह्यो युरोपियन महादेश हुँदै ब्रिटिस च्यानल पार गरिरहँदासम्म । र त यति बेला लामो श्वास लिएँ मन हल्का बनाउनका लागि ।
जोडिए प्लेन र एयरपोर्टका ढोकाहरू । अब बाहिरिने पालो । पहिलो बेलायत यात्रा । स्वाभाविक नै हो कौतुहल बढ्नु । तर खासै बढेको छैन । एक त यात्राको थकान र अर्को धेरै बेलीविस्तारहरू सुनेर पनि । ‘एयरपोर्ट टेक्ने बित्तिकै छिमेकी मुलुक पुगेको आभास हुन्छ है दाजु दाइ ।’ धेरैले सुनाएका यादगार डाइलग । यस्तै सोचाइले टाउको रिङ्ग्याइरहेथ्यो यति बेला । ह्याण्ड क्यारी तान्दै बिस्तारै थकित शरीर घिर्सान थाल्छु नयाँ बाटो नियाल्दै । सीता पनि यसरी नै घस्रिरहेकी छन् मलाई पछ्याउँदै ।
हङकङदेखि लण्डनको यात्रामा—स्वाभाविक हो अधिकांश यात्रीहरू ििचनियाँ ँ नागरिक हुनु । अनि क्यान्टोनिज भाषा अधिक बोलिनु । जम्मा आठ–दस जना जति मात्र थिए होलान् सेता छाला र गैर चाइनिज एसियन मुलुकका नागरिकहरू । यसैले होला प्लेनमा इङ्ग्लिस भाषा पनि खासै बोलेनन् सहयोगी वा परिचारिकाहरूले । मैले पनि क्यान्टोनिज भाषामै काम चलाएँ, अलिअलि जानेको सुनेको टुक्राटाक्री जोडेर । र बिताइयो चौध घण्टाको यात्रा । ओर्लने क्रममा एराइभल हलतिर जाँदै गर्दा सौच्दै थिएँ अब चाहिँ अङ्ग्रेजी भाषा बोल्ने पालो आउला भनेर । किनकि अङ्ग्रेजी भाषाको जननी वा जन्मभूमि हो बृटेन ।
ठूला ठूला एयरपोर्टहरूभित्र ठाउँ ठाउँमा सेक्युरिटी गार्ड वा सहजकर्ताहरू खटिएका हुन्छन्, यात्रीहरूलाई असुविधा नहोस् भनेर । बाहिरिने क्रममा त्यही खोजिरहे मेरा आँखाहरूले । तर देखा परेनन् गोरा छालाहरू । र, भेटिएनन् देखिएनन् पनि । पहिलो मान्छे जो थिए छिमेकी मुलुक—नस्लीय इण्डियन हुन् वा पाकिस्तानी । जोडिएको बृजको मुखैमा उभिएका थिए, सहजकर्ताको रूपमा । सम्झेँ लण्डन एयरपोर्ट पुग्दा इण्डिया पुगेको भान हुन्छ भन्ने उक्ति । हिँड्दै गएँ त्यस्तै अनुहारका मान्छेहरू मात्र भेटिँदै गए एकपछि अर्को । एक मनमा सन्देह बढ्न थाल्छ, कतै ब्रिटिस नागरिकहरू पनि तेस्रो मुलुकका नागरिकहरू झैं पलायनको लोभमा परे कि कसो ?
एराइभल बृजको नमुना ठ्याक्कै हङकङ एयरपोर्टको जस्तो । तर धेरै पुरानो लाग्ने । लण्डन एयरपोर्टकै मोडेलमा तयार पारिएको हुनुपर्छ, सायद । किनकि ब्रिटिस औपनिवेशिक शासनकालको अन्त्यतिर निर्माण गरिएको हो हङकङको नयाँ एयरपोर्ट । बाटाभरि यी दुई एयरपोर्टलाई तुलना गरिरहें दायाँबायाँ निहाल्दै ।
साँझको साढे आठ हानिसकेको छ घडीको सुइरोले । अँध्यारो त यसै पनि हुने भयो नै । तर अझै छोडेको छैन प्लेनभित्र नै छु जस्तो लाग्ने भ्रान्तिले । गाँजिरहेछ लामो यात्राको धङधङीले । फेरि बृज क्रस गरिरहँदा बाटामा पर्याप्त लाइट नपुगे जस्तो । हरेक पटक घरदेश (काठमाडौँको एयरपोर्ट) पुग्दाको महसुस भए जस्तो । फेरि उताको कुरै अर्को । एक त सधैँ राति पुगेर हो कि ? वा कतै देशको विद्युत बाहिर निर्यात गरिएर हो कि ? नत्र किन देशको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थलले पर्याप्त बत्ती पाउँदैन साँझ बिहान वा दिनरातमा ? वा कतै जरुरत पनि नठानिएको हो कि ? तर पनि चलेकै छ व्यापार । कता कता त्यस्तै झल्को दियो हिथ्रो एयरपोर्टले । यसको तुलनामा दश गुणा उज्यालो र सफा छ हङकङ एयरपोर्ट । मनमनै सोचें, कतै कतै नामै काफी रहेछ जे जसरी चलिरहे तापनि ।
झण्डै एक घण्टा लाग्यो बाहिर निस्कन । कहिले लामो लाइनमा उभिँदा । कहिले निस्किने बाटो खोज्दा । अनि कहिले लगेजको भारी तान्दा । अलमलले स्वात्तै खाइदियो साँझको समय ।
ठूलै सप्र्राइज भयो बाहिर करिडोरमा निस्कँदा । नारायण, सलबहादुर, प्रेम कोरङगी, मणि कान्छा भाइहरू पर्खिरहेका थिए मुख्य लवीमा । एकछिनमा जोडिन आए कान्छा अनित, बुहारी भिक्टोरिया र सानो बाबु । सबै पहिलेकै परिचयलाई नवीकरण गर्ने अनुहारहरू । तर दुई जनासँग भने पहिलो भेट । बुहारी भिक्टोरिया र नाती बाबु । साह्रै खुसी भइयो पर्खाइको समय पूरा हुँदा ।
केही बोल्न नपाउँदै खादा र पूmलका गुच्छाहरूले स्वागत खाइयो कुनै अमूक सेलिबे्रटी जसरी । न सोचिएको र न आशा गरिएको । पूरै खादा र पूmलले पुरिदिए हामी दुई जोइपोईलाई । छिनमै बिर्साइदियो लामो यात्राको थकाइ र दुखाइलाई । मन भावविभोर बनाइदियो आत्मीय आतिथ्यले । वरपर हिँडिरहेका यात्रीलाई समेत कर्के दृष्टि राख्न बाध्य बनायो विशेष परिवेशले । अनि रातको समयमा धेरैबेर चम्किरहे—भोकाएका क्यामेराका फ्ल्याशहरू ।
ट्रमिनल टु बाहिरको एउटा कफी सपको बसाइ । आहा ! कति मिठो कफी । मिठो स्वादले छिनमा सिनित्तै बढारिदियो थकाइ र जाडोलाई । यता कफी गफको क्रममा सलबहादुर भाइले भनिहाले– ‘यो कफी सप पनि इण्डियनकै हो दाजु ।’ यसो हेरें सर्भिसमा खटिरहेकी एक जना एसियन युवतीलाई । कालो कपाल अनि अनुहारको रङ्ग पनि केही कालो यहाँको तुलनामा । मनमनै सोचेँ अनि गोराहरू चाहिँ … ?
यसरी नै तन्किरहन्छ भाइहरूसँग कफी गफ । तर मेरा दृष्टि भने घरीघरी अगाडिको प्यासेजमा ओहोरदोहोर गर्ने अनुहारमाथि गडिरहन्छन् केही नयाँ खोज्ने क्रममा । कारण व्यस्त एयरपोर्टमा भेटिन्छन् थरीथरीका अनुहारहरू । अनि आआफ्ना वर्ण, रङ्ग र भूगोललाई प्रतिनिधित्व गर्ने मनुवाहरू । थप रमाइलो लागिरहेछ यस्तै नयाँ नयाँ खोज्ने हेर्ने र सुन्ने धुनमा । र केही हतारिएको पनि छु ती नौला परिवेशलाई अझै नजिकबाट नियाल्न ।
जति गफियो त्यति मज्जा लाग्ने लामो अन्तराल पश्चात्को भेटघाटमा । तर कति छिटो दौडिएको समयको रथ ? भोलि भेट्ने सर्तमा टुङ्ग्यायौं भेटघाट । अनि छुट्टिनै प¥यो मन नलागी नलागी । भाइहरू लागे फेलथामतिर, हामी सपरिवार सेल्वरीतिर ।
भोलिपल्टसम्म हल्लाइरह्यो प्लेनको धङधङीले । कताकता अझै निद्रा नपुगेजस्तो । आलस्यपूर्ण शरीर । यो समय पनि कति ढिलो हिँडेको जस्तो । हिँडेको डिसेम्बर २६ मा । यतिका समय बितिरहँदा पनि बल्ल डिसेम्बर २७ मात्र । करिब करिब एउटा सिङ्गो दिन नै हरायो क्यालेण्डरको पातोबाट अर्थात् एउटा दिन नै गडबड भयो पहिलो बेलायत यात्रामा ।
डिसेम्बर महिना, मध्य जाडो याम । यस्तै समयमा यात्रा तय गर्नुछ । त्यो पनि पहलो पहिलो । ‘यो बेलायत घुम्ने सिजन नै होइन । अति जरुरी परे मात्रै … । यो याममा बेलायतवासीहरू त देशबाट बाहिरिन्छन् हिउँदको हिउँ र जाडो छल्न ।’ यस्तै सुझावहरू धेरै सुनाएका थिए साथीहरूले । परन्तु यस्ता सुझाव सुनेर पनि अचानक निर्णय गरियो हिँडियो । तर हिजो नै भने त्यति अनुभूत गर्न पाइएन मौसमको वास्तविकता । जहाजबाट उत्रियौं अनि कफीसफी खाएर दौडियौं कारमा । कहाँ भेटोस् त जाडोले ?
अलिक ढिलो उठियो हिजो अबेरसम्मको बसाइले । तर सुनसान लाग्ने वातावरण । वरपर कतै सुनिँदैन मान्छे बोलेको हिँडेको आवाज । कोठाबाट तल ओर्लिएर पहिले झ्यालबाट नियाल्छु बाहिरी संसारलाई । हिउँदको कलिलो घाम समतल भूभागबाट बिस्तारै मास्तिर उक्लँदै गरेको— खुलेको बिहान । न रोक्ने पहाड देखियो न छेक्ने हिमाल । घामका खुट्टाहरू तन्किँदै आइरहेका छन् खिङ्ग्रिङ्ङ परेका रुखका नाङ्गा हाँगाहरूमा । अगाडि देखा परेका केही घरका धुरीहरू ती रुख भन्दा धेरै होचा लाग्ने । अनि बिस्तारै माथि सर्न थाल्छन् गुलाबी घामका पाइलाहरू । आहा ! कति मनमोहक दृश्य ! अनि त यसै उसै उर्लिन थाल्छन् मनका लहडहरू ।
बिस्तारै अगाडिपट्टिको झ्यालको पर्दा हटाउँछु अझ परपरसम्म चियाउनका लागि । एक्कासि एकहुल घामका किरणहरू ह्वात्तै घरको भित्रैसम्म पस्न आउछन् बिना अनुमति नै । उज्यालोसँगै घाममय भयो कोठा । तब रोक्न सकिनँ मनलाई । हतारहतार ढोका खोलेर निस्किन्छु साँघुरो आँगनमा ।
ढोका खोल्ने बित्तिकै ठूलै झड्का दियो एकहुल चिसो हावाले । साह्रै चिसो लाग्यो बाहिरको हावा र वातावरण । छिनमा आच्छु ! आच्छु बनायो, राम्ररी आँखा खोल्न नपाउँदै । एकछिन अटेर गरें । आँगन काटेर अलिक परसम्म पुगेँ । खुल्ला छ अगाडिको भाग । पर परसम्म फैलिएको । तर टाढा जान सकिएन । चिसो भुइँ । पाइलै पिच्छे च¥याप च¥याप तुसारो बज्ने । फर्किएँ । तर चित्त बुझेन । लामो बाक्लो ज्याकेट लगाएँ । जुत्ता कसेँ । फेरि निस्किएँ मङ्की क्याप लगाएर ।
बिहानीको शान्त वातावरण । वरपर कोही देखिएनन् । बाटामा न यात्रु न सवारी साधनहरू । केवल सामुन्ने खडा छन्, धारिला धुरी भएका एकनासका ससाना होचा घरहरू । धेरै जसो एउटै धुरीमा दुई तीन वटासम्म जोडिएका जम्ल्याहा तिम्ल्या घरहरू । बाटाका किनारमा पातला केही अग्ला अग्ला लहरै उभिएका रुखहरू । एउटासम्म पात नरहेका, सिक्रिएका । नाङ्गै दोबाटोमा उभिरहे झैं लाग्ने । यस्ता निर्वस्त्र माया लाग्दा रुखहरू बिरलै देखिन्छन् हाम्रा गाउँघर अनि हङकङतिर । खुलेको बिहानमा भुइँका घाँसमाथि—कलिला घामका किरणहरू पोखिँदा टलक्क टल्किएका छन् शीतका थोपाहरू । झरी परेर बेस्सरी कुटे झैं चिसो देखिने, बाटा वरपर जमिनको सतह पनि ।
हिँड्दै अलि परसम्म पुगेँ तर कहाँ जानु ? उतापट्टि केही ठूला र अग्ला भवनहरू देखिन्छन् अफिस कार्यालय जस्ता । मास्तिरको खाली ग्राउण्डभरि थरीथरीका गाडीहरूले थकाइ मारिरहेका छन् । यति बेला एक दुई जना मान्छे भेटिन्छन् मर्निङ वाक्मा निस्किएका हुनुपर्छ । र कोही ड्युटी सकेर क्वाटर फर्किरहे जस्ता पनि छन् । धेरै टाढा जान पनि मिलेन । गेट काटेर जान सकिएला तर फेरि फर्कन गाह्रो । किनकि बसाइ आर्मी क्याम्पभित्रको छ ।
दस पन्ध्र मिनेट जति बाहिर बरालिएँ । बल्ल राम्ररी हेक्का रह्यो लण्डनको जाडोको । तर त्यो भन्दा गतिलो हेक्का त्यति बेला भयो जति बेला स्टोनह्याङ गार्डेन हेर्न पुगियो । खासै टाढा होइन यहाँको बसाइदेखि । निकै भीडभाड थियो स्टोनह्याङ गार्डेन वरपर । विशेषतः एसियन मुलुकका टुरिस्टहरू । भर्खरै सुरु भएको रे पर्यटकका लागि टिकेटिङ सिस्टम । पहिलेबिना रोकतोक हेर्न छुन पाइन्थ्यो रे ती ढुङगाहरूलाई । तर अहिले डोरीले घेरेर अलग गरिएको छ त्यस क्षेत्रलाई ।
अलिक वरैबाट हे¥यौं त्यस दृश्यलाई । बाटो सजिलो भए पनि चिसो भुइँ पानी परे झैं ग्याजग्याज हिलो । खाली चौरीमा चिप्लिएर लडिएला भन्ने डर । घाँस भएतिर टेकेर हिँड्नुपर्ने—गोडा नचिप्लियोस् भनेर । फेरि यति दह्रो हावा चल्दो रहेछ लडाउला जसरी हुत्याउने । हुरी आए जसरी । जाडो वा चिसो त छँदैछ । त्यस माथि सिमसिमे पानी परिरहँदा कति कष्टकर । साथमा नानी बाबु पनि छन् । बिचरा जाडो र हावाको झोक्काले निलाकाला भए रुन पनि नसकेर । बच्चाको हालत खराब भएकोले हतार हतार फर्कियौं कार पार्कतिर ।
बेलायत पुगेको बेला एक पटक हेर्नै र पुग्नै पर्ने ठाउँ रहेछ स्टोनह्याङ गार्डेन । जुन २००० देखि ३००० बि सि तिर निर्माण भएको अनुमान छ । अहिले पर्यटकको लागि सशुल्क खुला गरिएको एक ऐतिहासिक धरोहर । निकै आश्चर्य लाग्दो छ ढुङ्गाको बनावट । कहाँबाट कसरी केका लागि ल्याए होलान् यति ठूला ठूला ढुङ्गाहरू ? कसरी किन दिए होलान् यस्ता आकारहरू ? अचम्ममा पर्छु । निश्चय नै आकर्षित हुनेछ जो कोही पहिलो पटक यहाँ आउँदा ।
हिजो एयरपोर्टमा भोलि फेरि भेट्ने भनिए पनि कहाँ सजिलो रहेछ र भेट्न भेटिन ? एक त भौगोलिक रूपमा निकै टाढा । फेरि कहाँ छन् र फुर्सदिला मान्छेहरू । सबै आआफ्नै पेसा र बेथामा व्यस्त । म पो अहिले फुर्सदिलो भएँ । बेगारी । घुमन्ते । फेरि कहाँ सजिलो रहेछ र हङकङ जस्तो सरल र सुविधामय ? सुविधामय नभएको होइन । तर यहाँ र त्यहाँमा धेरै भिन्नता । हङकङ सामान्य मानिसहरूका लागि आवतजावत गर्न अर्थात् यातायातको दृष्टिकोणले कति सुविधा कति ? तब पो हङकङ । बरु आफ्नै सवारी साधन हुनेलाई पो गाह्रो पार्किङ सेवा पाउन वा खोज्न । सर्वसाधारण यात्रुहरूलाई हिँड्डुल गर्न साह्रै सजिलो छ हङकङ । अनि एउटा बेग्लै मज्जा निर्धारित समयमा नियमित चलिरहने पब्लिक यातायातमा यात्रा गर्न ।
तीन दिनपछि बल्ल मौका जु¥यो फेलथामतिर उक्लन । सोचे जस्तो नजिक छैन बसाइको हिसाबले । कान्छो अनितको आर्मी क्याम्प र फेलथाम । झण्डै दुई घण्टाको बाटो । फराकिलो हाई वे र समतल भूगोलको कारण खसै भीडभाड नहुने । कार ड्राइभ गर्नेलाई गाह्रो होला तर रमाइलो छ यात्रा गर्नेको लागि ।
घुम्न आएको । हेर्ने रहर चलिरहन्छ यात्रामा काटिएका दृश्यहरू । जता पनि उस्तै । बाटामा भेटिने देखिने बोटबिरुवाहरू । पात झरेर खिङग्रिङ्ङ परेका । हिउँदको मारमा परेर शीत र तुसारोले बिरूप बनाए जस्तो । फेरि कतै रुखमा न चरा भेटिए न चराका गुँडहरू । उजाडिएका हाँगामा चराले न लुक्न पाउने न बासको लागि गुँड बनाउन सक्ने । बैंस हराएका रुखहरू । कतै चराहरू पनि हिउँदको जाडो छल्न परदेश हिँडे जस्तो लाग्ने ।
अनि घरहरू पनि जाडोले कठ्याङ्ग्रिएका जस्ता । कतै गहिरो सन्तापमा जिन्दगी काटिरहे जस्ता । हेर्दै कष्टकर लाग्ने वातावरण । तर एक हिसाबले यहाँको भौगोलिक बनावट असाध्यै राम्रो रहेछ । खुल्ला फराकिला फाँटहरू । फाँटभरि कतै भेडा, कतै गाईवस्तु, कतै घोडाहरू चरिरहेका । कतै पहाड जस्तो देखिए पनि साह्रै होचा डाँडा । के पहाड भन्नु र ? अलिकति उठेको अग्लो ढिस्को जस्तो मात्र ।
खोला नाला पनि खासै भेटिएनन् यस रुटमा । यति लामो यात्रामा पनि ठूला बृजहरू नभेटिनु । लाग्छ यस्तो ठाउँमा न बाढी आउने न पहिरो जाने डर । तब त भौतिक संरचनाहरू एकपटक बनाएपछि लामो अवधिसम्म टिकिरहन सक्ने । यहाँ कतै छैन मेरो देशको कृष्णभीरको बाटो जस्तो । पानी प¥यो कि बगायो । बाह्रै महिना बाढी पहिरोको भय । हरेक पल डरैडरमा बाँचिरहनु पर्ने । कतै सम्पन्नतामा भूगोलले ठूलो महङ्खव राख्दछ भन्ने सन्देश दिइरहे जस्तो लाग्ने । यात्राभरि खुला फराकिला फाँटहरूले तानिरह्यो यो परदेशी मनलाई ।
फेरि भेट भयो एलबी ज्वाइँको घरमा—नारायण, एनबी र प्रेम भाइसँग । एकछिन पछि मणि कान्छा पनि आइपुगे हामीलाई खोज्दै । अनि पुगियो सलबहादुर भाइको घर । त्यसपछि सुरु हुन्छ फेलथामको कुनाकाप्चा चहार्ने काम । यहाँ डुल्दा भने सहर पुगिए जस्तो लाग्यो । ‘केही बाक्ला र अग्ला घरहरू भएको ठाउँ मात्र सहर जस्तो लाग्ने ।’ जहाँ घरैपिच्छे पसल होस् । सधैँ मानिसको भीडभाड रहोस् । यस्तै छाप आउँछ हाम्रो मानसिकतामा । जो देख्न पाइयो फेलथाम छिरेपछि ।
झण्डै दुई अडाई घण्टा नै दौडियौं थेम्स नदी वरपरका पुराना सहरका बाटाहरूमा । जता पनि एकैनासका घरहरू । रेलवे सेवामा पनि इण्डियन विशेषता झल्किने । अहिले पनि ट्रेन आउँदैछ भन्ने सङ्केतमा बाटामा ढाट तेस्र्याउने प्रचलन । भाइहरू सुनाउँथे– यहाँको रेलवे निर्माणको काम इण्डियन कामदारहरूले गरेका हुन् । विशेषतः पञ्जाबीहरूले । अनि यो थेम्स नदी निर्माण काम अफ्रिकाका काला जातिहरूबाट गराइएको हो । लामो कथा हाले पनि यस्तै पाएँ बुझाइको सार । एक ठाउँमा बाह्रसिङ्गे राखिएको खुला चौरमा पनि पुगियो घुम्दै जाने क्रममा । नजिकै कफी सप भेटिँदा ढुङ्गा खोज्दा देउता मिले झँै हुन्छ जाडाले सताइरहेको बेला ।
पुरानो सहर वरपर चक्कर काट्दै बेलुकी हान्सलु स्थित एक गोर्खाली रेष्टुरेन्टमा पसियो दिनभरको थकाइ मेट्ने बहानामा । एक त साथी भाइहरूलाई नयाँ वर्ष र क्रिसमस होली डे लागेको छ । अर्को जाडाको मौसम अर्थात् जाडोले दिइरहेको चुनौती । त्यहीँ थपिन्छन् बाबुराम, बद्री खनाल, भोलामान र दुर्गा दिदीहरू । एकैछिनमा दस बाह्र जना सङ्खुवासभाली भेला भइयो, प्रेम भाइले फोन घुमाएपछि । यति बेला सलबहादुर भाइले गाडीमा राखिएको पन्ध्र बीस वटा ‘निरजोया’ लिएर आए, हङकङको कोसेली भनेर । त्यहीँ हो पहिलोपल्ट निरजोया नजिकबाट देखेको र छोएको । काठमाडौँबाट नै एकसय थान ‘निरजोया’ बेलायतका लागि कार्गो गराएको थिएँ, यात्रा निश्चित हुँदा ।
जु¥यो हितैषीहरूलाई ‘निरजोया’ वितरण गर्ने पहिलो अवसर । खुसी नहुने त कुरै भएन । हतार हतार हस्ताक्षर ठोकेर हात हातमा थमाएँ, एउटा सुखद मुस्कान सहित । तर हाँसेर बिसाउन नपाउँदै फुस्स भयो मेरो सुखद् मुस्कान । बेलुनको हावा खुस्के झैं भयो । कल्पनासम्म नगरिएको कुरा । केही थान पुस्तकहरूमा खाली पेजहरू भेटिएको बताउँछन् सलबहादुर भाइ । साँच्चै रहेछ अन्य पुस्तकहरूमा पनि उस्तै त्रुटिहरू । बीस थान पुस्तक केलाउँदा आधाजसो त्रुटियुक्त भेटियो । यसपछि राम्ररी चेक गरेर केही प्रति वितरण गरेँ, त्यो पनि डराइ डराइ । आउँदो डिसेम्बर ३१ को ल्होसार कार्यक्रमलाई लक्षित गरी ल्याएको पुस्तकको हालत यस्तो । भएन त दिमाग खराब ?
जिरो आवरमा के कति मन दुखाउनु ? पश्चात्ताप गर्नु बाहेक । अरूमा विश्वास नगरी नहुने । गरे परिणाम यस्तो । के भन्नु र खै ? जहाँ रहे पनि कति काम आफ्नै देशमा भर पर्नुपर्ने । विश्वासले, मायाले अनि सजिलोका कारणले । तर परिणाम– न भने जस्तो न सोचे जस्तो ।
जुन पहिलोपल्ट रोजी रोजी खोजी खोजी फिनिक्स बुक्स प्रा.ली.बाट छपाएको । अरू कति प्रकाशन गृह देखाउँदा पनि नमानेको । लाग्यो पहिलो गाँसमै ढुङ्गा । अरू केही उपाय छैन सात समुद्र्र पारिबाट बोलेर मन शान्त गर्नु बाहेक । भोलिपल्ट कल गरेँ प्रकाशन गृहमा । बेलीविस्तार लगाएँ पुस्तकको अवस्था बारे ? कति सजिलै जवाफ फर्काए— ‘हतार गराउनु भयो । मैले पनि हेरिनँ । प्रिन्ट मिस्टेक कपी गिन्ती गरेर राख्नु होला । म अरू भएको प्रति चेक गर्नेछु । है त ।’ यति भनेर फोन काटे । केहीबेर ट्वाँ …परेर हेरिरहेँ आफ्नै मोबाइलललाई ।
मिस्टेक कपी फोटो पेष्ट गरिदनू है भनेर प्रकाशक त पन्सिए ‘काममा हतार लगाउनु भयो’ भन्ने आरोप थोपरेर । अलिक हतार पनि भएकै हो तर आजको भोलि नै चाहिन्छ भनेको त होइन नि ! तीन हप्ता समय थियो सिर्फ छपाइ काम गर्नका लागि । कति सजिलो जुक्ति निकाले प्रकाशक महाशयले—हतार लगाउनु भयो भनेर । यति बेला केही शुभचिन्तकहरूका सल्लाह गला लाग्यो— ‘ किन कुरा काटँे, सल्लाह मानिनँ उहाँहरूको ? किन छोडिनँ लिँडेढिपी ? कतै यस्तै आपत् बोक्न र फस्ने खाल्डो जानाजानी खोजे जस्तै बनायो अहिलेको परिणामले ।’
समय पावन्दीको कारण हतार गर्नु पर्ने बाध्यता । बेलायत जाने भएपछि ‘किन रित्तै जाने ?’ यही सोचले प्रेसलाई चाँडै ‘निरजोया’ चाहियो भनेर हतार लगाएँ । र स्वाभाविक रूपमा लिनुपर्ने यस्ता ग्राहकका मागहरूलाई ? उल्टै थर्काए आपूm चाखो बन्न । सुन्न र सहन बाहेक कुनै बिकल्प रहेन यति बेला । अलिकति उसलाई पनि गल्तीको महसुस गराउन सकिन्थ्यो होला, केही समय पेमेन्ट रोकिदिएर । तर यो लाटोले केही नहेरेर नसोचेर त होला प्रेसको बिल आउनु अगावै भुक्तानी गरिदिएको थियो काम चाँडो होस् भनेर । अब त … ! यात्राको एउटा साइनो या कोसेली पनि हुने । अनि सधैँ एउटै प्रकाशनबाट भन्दा फरक फरक प्रकाशनबाट आओस् भन्ने रहरले पनि यस्तो भयो । यस हेतुले अन्य प्रकाशन गृहहरू छोडेर राजेको थिएँ । अब एक अप्रिय संयोग भनेर स्विकार्नु बाहेक कुनै बिकल्प रहेन मसँग ।
पारदर्शी पातलो प्लाष्टिकले ¥यापिङ गरिएका थिए प्राप्त पुस्तकहरू । अब प्लाष्टिक खोलेर हेर्न सकिनँ बाँकी रहेका पुस्तकहरू । बीस वटा चेक गर्दाको हालत यस्तो छ । डराएँ अरू कति फेला पर्ने हुन् भन्ने सन्देहमा । मनमा अनेक कुराहरू खेल्न आए यो नरमाइलो बेलामा । पछुतो त कति कति ? मनमनै सोचेँ कतै धेरै प्रकाशन छान्दाको परिणाम पो हो कि ? चल्तीमा रहेका प्रकाशकहरू किन जिम्मेवार हुन सक्दैनन् ? कामप्रति किन जवाफदेही हुन सक्दैनन् ? किन यसरी चरम लापर्बाही हुन्छ ? किन नहेरी वितरण गरिन्छ ?
एकाएक चिसो हावाले सेके झैं भयो तातिँदै गइरहेको साझको भेटघाट कार्यक्रम । मेरो लागि भनेर तय गरिएको कार्यक्रममा म नै बेखुसी जस्तो भएँ । सबैका दृष्टि मैतिर तेर्सिरहे जस्तो भयो । तुरुन्त सम्हालेँ आपूmले आफैंलाई वातावरण सामान्य बनाउन । ‘… अब जे भयो भयो । चिन्ता नगरौँ । पर्सिको कार्यक्रममा बाँकी पुस्तकहरू कभर नखोली वितरण गरौँ । प्रिन्ट मिस्टेक भए वा परेछ भने पठाइदिनू होला ।’ यस्तो सल्लाहमा आँखा चिम्लिएँ । क्षमा पाऊँ प्रिय पाठकवृन्द । जो भयो गरेँ, एउटा ठूलो विवशतामा । मानसिक दबाबमा ।
यस कर्मको सबै सबै परिणाम तिर्न नसके पनि सामान्य क्षति बेहोर्न तयार छु र सकेसम्म पुनः निरजोया हात लगाइ दिनेछु समय सालमा ।
अचानक बेलायत उड्ने योजना बन्यो नावेम्वर २०२३ मा । जब सङ्खुवासभा तमु समाज बेलायतले निमन्त्रणा बाँड्यो ‘आउँदो डिसेम्बरको ३१ को ल्होसारमा युके आउनै पर्छ’ भनेर । पहिलेदेखिकै थाती रहेको रहर । हुटहुटी नै चलाइदिए भाइहरूले ‘आउनै पर्छ ’ भन्ने शब्द दोहो¥याएर । यति बेला थोरै व्यस्त पनि थिएँ, ‘सङ्खुवासभा तमु समाज बेलायतको स्मारिका’ सम्पादनको काममा । हुन्न भन्न सकिएन । ‘हुन्छ’ भनँे । तब हतार लाग्यो तयारी अवस्थामा रहेको ‘निरजोया’ किन लिएर नजाने भन्नेमा । एक त कोसेली अर्को थाती रहेको नयाँ काम पनि सकिने । सम्पादनमा सहयोग गरिदिनु हुने राजकुमार बानियाँजीलाई तातो लगाएँ अचानक बनेको यात्रालाई लिएर ।
तीन हप्ताभन्दा बढी नै समय थियो छपाइ सम्बन्धी कामका लागि । एकै हप्तामा सक्ने वचन दिए प्रकाशक महोदयले । म ढुक्क भएँ । तर खोइ कसरी यस्तो गल्ती भयो वा गरे ? नजिकै भए पुनः प्रेसबाट अरू पुस्तक ल्याएर वितरण गर्ने थिएँ । समय छैन । कसैलाई दोष दिएर पनि केही हुँदैन । कहिलेकाहीँ सानो त्रुटिले पनि कति नमज्जा बनाइदिन्छ सुखान्त परिवेशलाई । तर यसलाई कसरी सानो भन्ने र ?
तीन घण्टा बढी नै अलमल्यायो गोर्खा रेष्टुरेन्टको खानपिन र गफले । पर्सि डिसेम्बर ३१ को ल्होसारमा भेट्ने सर्त सहित फर्किएँ सेल्सवरीतिर ।
पछिल्लो समयमा ह्वात्तै बढेको छ, बेलायत बसोबास गर्ने गोर्खा सैनिक परिवारको सङ्ख्या । पहिले उमेरको हदबन्दी तोकिएको थियो, गोर्खा सैनिकका छोरा छोरीहरूका सवालमा । अहिले खुला गरिएको छ उमेरका सर्तहरू । यसरी बसोबास गरिरहेका सङ्खुवासभालीहरूका बीच भेटघाट गर्न ल्होसार एउटा अवसर बनेको छ । यो पर्व गुरुङ जातिको नयाँ वर्षको चाड पनि हो । यसपाला सबै तमु बन्धुहरूका लागि एकै ठाउँमा ल्होसार मनाउन कम्युनिटी कलेज फेलथाम तोकिएको रहेछ, मुख्य केन्द्रको रूपमा ।
घरबाट सपरिवार बेलैमा हिँड्यौँ र पुग्यौँ फेलथाम स्थित ल्होसार कार्यक्रममा । कलेजको बाहिर ग्राउण्ड छेउमा पार्किङको व्यवस्था छ । त्यहीँ भेटिए धेरै वर्षपछि खगेन्द्र ज्वाइँ । हङकङ छोडेपछिको अर्को संयोग । खुसी लाग्यो र कृतज्ञ भएँ यस ल्होसारको संयोगमा । ज्वाइँले नै डो¥याउनु भयो कार्यक्रम स्थलसम्म ।
निकै ठूलो हल । तीन–चार सय मान्छे अटाउन सक्ने हल । दुई अढाई सय जति भेला भइसकेका छन् । जिल्लावासीको भेला भनेपछि नचिने पनि सबै चिने सरह लाग्छ । फेरि कार्यक्रमका हर्ताकर्ताहरू अधिकांश हङकङ पलायन भएका अनुहारहरू छन् । अन्यका तुलनामा अधिक सक्रिय जस्तो लाग्ने । धत् मेरो भ्रान्ति मात्र ! सबै सक्रिय छन् आआफ्ना क्षेत्रमा ।
लामो अन्तरालमा पुनः जोडिन्छन् पुराना परिचित अनुहारहरू । र जोडिएका छन् कति सुनेका तर पहिले नभेटिएका अपरिचित अनुहारहरू पनि । आहा ! ल्होसार एक सुखद अवसर ! आस्थाको पर्व !
हलको बीच भाग खाल्डो जस्तो देखिने भुइँ तलामा छ । त्यहीँ भित्र कुर्सी टेबलहरू राखिएका छन् । पहिले नै भरीभराउ देखिन्छ कुर्सी टेबलहरू । खाल्डोको अगाडिपट्टि माथि फराकिलो मञ्च । र मञ्चको भित्तोमा ठूलो ब्यानर टाँगिएको छ । जसमा लेखिएको छ ‘सङ्खुवासभा तमु (गुरुङ) समाज बेलायत’ । अनि मध्य भागमा ‘तमु ल्होसार २०२३’ ।
कस्तो संयोग पनि ? २०२३ आज मात्र । एकैछिनमा बिदा लिँदैछ २०२३ ले अर्थात् ल्होसार कार्यक्रम ३१ डिसेम्बरको दिनले । मिति, महिना र वर्षको अन्तिम दिन । ल्होसार पर्वसँगै इङ्िग्लस नयाँ वर्षको पनि शुभकामना बाँड्न सकिने छ । यता बेलायतवासीको लागि लामो होली डेमा पर्व नै पर्व । भर्खर सकिएको क्रिसमस र आउँदै गरेको नयाँ वर्षको संघारमा तमु ल्होसार । यस्तै फुर्सदिलो समयमा तय गरिएको छ । ल्होसार पर्व पनि परेको छ । यसरी सबै कुरो जुरेको छ । एक प्रकारले गाउँवासी भेला भएर शुभकामना आदानप्रदान गरिएको कार्यक्रम । जुन स्वाभाविकै हो यति धेरै फुर्सदिला मानिसहरू एक ठाउँमा जम्मा हुनु पनि ।
केही समय चिनजानको सुखद माहोल कायम रह्यो । कति परिचितसँग पुनः परिचय नवीकरण भए, गरिए । केही नयाँ अनुहारहरूसँग नयाँ नाता जोडिए । एकैछिनमा बाहिर चिसो हावाले सेकेको डामलाई न्यानो गरिदियो आफन्त भेटघाटले । माया र सद्भावले । त्यसपछि भलाकुसारीसँगै खानपिनको परिवेश निर्माण भयो ।
बीच खाल्डोको अगाडि भागको दाहिने कुनामा बौद्ध धर्मगुरु आशीर्वाद आसनमा बसेका छन् । लाइनमा उभिएर पालो पालो आशीर्वाद लिने र रखेडोरी बाँध्नेको लर्को म । म पनि उभिएँ । अनि लिएँ गुरुको आशीर्वाद । बाँधेँ रखेडोरी । समय बढेसँगै सुरु हुन्छ औपचारिक कार्यक्रम । मञ्चमा भाषण, स्वागत, सम्मान आदि इत्यादि छ । यही त हो नेपालीहरूको कार्यक्रमको विशेषता । म पनि मानको फेटा गुथेर मख्ख परँे सम्मानको आसनमा । औपचारिक रूपमा विमोचन गरियो सङ्खुवासभा तमु समाज बेलायतको पहिलो स्मारिका । र यही अवसरमा ‘निरजोया’ (उपन्यास) को विमोचन गरियो अतिथि र सबै मान्यजनहरू माझ । र दोस्रो चरणको अनौपचारिक कार्यक्रममा, चल्यो नाचगान र दोहोरी साँझ । नेपालबाट आउनु भएका कलाकार द्वयले (यहाँ नाम पनि उल्लेख गर्नु भएको भए राम्रो हुने थियो दाजु) नचाए, तताए परिवेश दोहोरीको भाका हालेर । खुब नाचियो हुलमा मिसिएर ।
पूरा भयो ‘निरजोया’ वितरण गर्ने चाहना । तर साह्रै मन पोलिरहेथ्यो दुई दिन अगाडिको गोर्खा रेष्टुरेन्टको घटना सम्झेर । कति जनालाई प¥यो होला त्रुटिपूर्ण प्रतिहरू । कतिले केके भने होलान्, पुस्तक पढ्न खोज्दा बीचबीचमा खाली पानाहरू भेटिँदा ? अनि कति तितो धारणा उब्जिए होलान् ‘निरजोया’ हेर्ने दृष्टि र पढ्ने मनहरूमा ? अचानक ठोक्किएर ठेस लागे जस्तो । मनमनै माफी मागिरहेँ । भोलि भेटिँदा अवश्य नै ‘सरी’ भन्नेछु प्रिय मनहरू माझ । समय मिलेमा फेरि टक््रयाउने छु ‘निरजोया’ यहाँहरूको हातमा । केही प्राविधिक कारण भनौँ या कतै हतारवश यस्तै रह्यो यसपल्टको कोसेली ।
१५ फेब्रवरी २०२४
फेलथामको ल्होसार
फेलथामको ल्होसार

Advertisement