म कर्नाली !
बगाइरहेछु निरन्तर दुधको नीलो धारा
पार गर्दै गहिरा खोँच, कन्दरा र भीरहरू
सिँचिरहेछु तिम्रा आँत र खेतखलियानहरू
रित्याएर आफूलाई
म आफैँ बनिरहेछु उजाड पठार !
म कर्नाली !
खेलिरहेछु निरन्तर तिम्रा ओठ र गलाहरूमा
शब्द, निःशब्द युगौँयुगदेखि गाइरहेछु पीडाको धमारी !
पठाएर रातो मार्सी
तिम्रा भोजनगृहहरूमा
लडिरहेछु एक मुठ्ठी कुहेको चामलको युद्ध
एक चिम्टी नून र एक फाँको गहुँको युद्ध
ओढाएर तिमीलाई न्यानो राडी
म तापिरहेछु नाङ्गो आकाश !
म कर्नाली !
लुटाएर यार्चागुम्बा–
वद्र्धन गराइरहेछु तिम्रो वीर्य
र युयौँदेखि तिमीबाटै भइरहेछु बलात्कृत !
खोसाएर हाम्रा बारीका राता स्याउहरू
टोकाइरहेछु नाबालक छोरीका कलिला गाला !
हामीलाई त प्रकृतिले समेत सौताकी छोरी ठान्छ
घामले हरेक दिन सिरेटोको तीर हानेर जान्छ !
बर्खाले बर्षेनी बादलको चँदुवामा
दुई थोपा आँसु झारेर जान्छ !
म कर्नाली !
तिम्रो क्रान्तिको तुइनमा उल्टो झुण्डिएर
पार गर्छु पगली तिला !
उम्रिन्छन् कि भनेर शान्तिका कागुनु
हरदिन पानी हाल्छु निधारको बाल्टीबाट
कोटबाडाको समाधीस्थलमा
पसिना र आँसु पुछ्दापुछ्दै फाटिजान्छ सिस्नुको टोपी
र मैलाई हेरेर अचम्मसँग हाँसिरहन्छ सैपाल हिमाल !
मेरो सुस्केरा तिम्रो जुलुसको नारा बन्न सक्दैन
मेरो पीडा तिम्रो सिरानीको सपना बन्न सक्दैन
मेरा दुःखका कथाहरू टायर बनेर बल्दैनन् !
र चक्काजाम हुँदैन चौरी लड्ने भीरका गोरेटोहरूमा !
आगो बोकेर बल्दैनन्
घुच्ची, डाँफे र चङ्खेली लेकहरू !
तिम्रो चिल्लो गालामा पलाएको
म कुरूप डण्डिफोर !
तिम्रो छन्दोबद्ध सिलोकभित्रको
म एउटा छन्दभङ्ग हरफ !
कि शक्तिको कवाफमा
उम्रिएको हड्डी !
म सत्ताको हलुवामा मिसिएको
खस्रो न खस्रो बालुवा !
म कर्नाली !
तिमीबाट बलात्कृत छु युगौँदेखि
तर अब कसरी बोल्नेछु म– हेरिराख
ओ निर्दयी काठमाडौँ ?
