पैतालामा बोकेर जन्मभूमिको माटो
तमसुकको भाकामा राखेर मन
आँखामा लिएर ठुलो देशको सपना
ह्रदयमा जगाएर अर्धानो आशा
छातीमा टाँसेर देशको तस्बिर
हिँडिरहेका ए यात्रीहरू !
आमा बर्बराउँछिन् अचेल हररात सपनीमा
मेरा सन्तानहरू किन अटाएनन् देशको भूगोलभित्र ?
कहाँ हराउँदै छन् देश सजाउने हातहरू ?
भन्छिन् मालचरी झैँ उडिरहे भने यिनीहरू
यहाँ कसले गाउला पालम र सोरठी ?
को नाच्ला मारुनी र सँगिनी ?
कसरी जिस्किएलान् बालनसँग खैँजडीहरू ?
बाँसुरी बजाउने ओठहरू नभए
कसरी गाउलान् पिरतीका गीत सारङ्गी र मुर्चुङ्गाहरूले ?
अब त रोक्केऊ न ए माइला र मालतीहरू !
उडिरह्यौ भने तिमीहरू
यहाँ अरू उडान भर्ने छन् हजारौँ यात्रीहरू
बाजेहरू बाँचे आफ्नै छानो छाएर
बजूहरू बाँचिन् आफ्नै मानो खाएर
श्रमका बीज छरी सिँचेर पसिनाका बुँदहरू
फुलाएर पहरामा सद्भावनाका फूल यहीँ
नचाए आँखामा खुसीका नृत्यहरू ।
ए माइला र मालतीहरू !
आँखा रसाउँदै नछोड आमाको काख
हाँस माइला, हँसाइदेऊ हालेर उखान
बुढो रुखको चौतारीमा बसेर
आफू जस्तै अन्य फरासिला तन्नेरीहरूलाई समेटेर ।
नाच मालती, नचाइदेऊ
दोबाटोका देउरालीमा बसेर घाटु र सङ्गिनी
आफू जस्तै अन्य फरासिली तरुनीहरूलाई समेटेर ।
खेलाएर सुनकोसीको किनारमा गैँती र बेल्चा
बनाएर दुधकोसी झैँ उज्यालो मुहार
सगरमाथाको छानो हालेर यहीँ
निर्माण गर एउटा घर सहृदयको ।
थाक्दा घप्लक्क ढल्नू आमाको काखमा
निदाउनू मस्तले बाको छातीमा कान लगाएर
सुन्नू देशको धड्कन
सुँक्क सुँक्क गर्दै छ बचेराबिनाको गुँड
र भन्दै छ– तिमीहरूको उडान रोकिएन भने
कसले देख्छ यहाँ गोधूलिले लाली भरेको ?
चुल्ठामा लालीगुराँस सजाएको ?
को हुन्छ तैनाथ सीमा सीमामा ?
कसले गर्छ देशको पहरेदारी ?
सन्देह छ तिमीहरूबिना एकदिन यहाँ
ओइलाउने पो हुन् कि मानवताका बोटहरू
धर्मराउने पो हुन् कि सम्बन्धका महलहरू
धपाइएर वृद्धाश्रममा वृद्ध बाआमाहरू
किनिने पो हुन् कि महँगोमा मलामीहरू ?
बर्दिया ।